बुडर जोरायल गडसेरा सडकमा प्रगति : रास्वपाको ध्यानाकर्षणपछि कार्यालयको जवाफ
डोटी बुडर जोरायल गडसेरा सडक निर्माणमा भएको ढिलाइबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डोटी जिल्ला समितिले २०८३ असार २६ गते सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आयोजना शीघ्र सम्पन्न गर्न माग गरेको थियो। उक्त ध्यानाकर्षण पत्रको सन्दर्भमा पूर्वाधार विकास कार्यालय, डडेल्धुराले रास्वपा डोटी जिल्ला समितिलाई पत्राचार गर्दै आयोजनाको हालसम्मको प्रगति तथा निर्माण अवस्थाबारे जानकारी गराएको छ। सोही पत्रको सन्दर्भमा कार्यालयले हालसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको जानकारी दिएको छ।
कार्यालयका अनुसार सडक आयोजनाअन्तर्गत विभिन्न संरचना निर्माण, सडक कटिङ, नाली तथा सब-बेसको काम सम्पन्न भएको छ। बेस, सडक कालोपत्रे तथा केही संरचना निर्माणको काम भने बाँकी रहेको छ। बाँकी कामलाई तीव्रता दिई आगामी आर्थिक वर्षको असोजसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।
निर्माणमा देखिएको ढिलाइलाई सम्बोधन गर्न निर्माण व्यवसायीलाई आवश्यक निर्देशन दिइएको, प्रदेश सचिवको उपस्थितिमा Management Meeting गरिएको तथा निर्माण व्यवसायी शर्मा–राजेन्द्र जे.भी.का साझेदार कम्पनीबीच साइट नेतृत्व र आवश्यक सहकार्यबारे सहमति भएको कार्यालयले जनाएको छ। साथै, जे.भी.को अग्रिम जमानतबापत रु. ४,२१,२२,००० जफत गरिएको र नियमित प्राविधिक अनुगमन भइरहेको उल्लेख छ।
रास्वपा डोटी जिल्ला समिति बाट प्रतिनिधित्व गर्दै सह सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको पूर्वाधारमा हुने ढिलाइबारे प्रश्न उठाउनु र त्यसको जवाफ तथा कार्यान्वयनको अवस्था पछ्याउनु राजनीतिक जिम्मेवारी भएको बताएका छन्।
“फाइलमा प्रश्न उठाउने, जवाफ माग्ने र जवाफलाई फिल्डको परिणामसँग जोड्ने” भन्ने अवधारणासहित रास्वपा डोटीले अघि सारेको ‘फाइलदेखि फिल्डसम्म’ अभियानअन्तर्गत यस विषयलाई निरन्तर निगरानीमा राख्ने जनाएको छ।
कार्यालयले पनि आयोजना समयमै सम्पन्न गरी स्थानीय नागरिकलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
फाइलमा उठेको प्रश्न अब फिल्डमा देखिने परिणामतर्फ अघि बढेको छ।
आफ्नो समस्या पठाउनुहोस्
डोटीको विकासका लागि तपाईंको सुझाव र विचार पठाउनुहोस्।
आफ्नो समस्या पठाउनुहोस्